June 16, 2012

आमालाई चिठ्ठी

आमा! मलाई शहरले यहाँ दिनदिनै डसिरहेको छ । यो बिषक्त डसाईले मलाई जीवन र मृत्युको धिपधिपे उज्यालोमा अनकन्टार यात्रामा चुपचाप हिड्न विवश गराईरहेछ । खुट्टामा बिझेका काँडाहरू निकाल्न पनि नदिई, प्यास लागेको बेला पानी पिउन पनि नदिई, भोको पेट अनि चर्को घाम केही नभनी मलाई निरन्तर मुट्याईरहेछ अघिल्तिर । यो शहर जबरजस्त भईसकेछ आमा! यहा संबेदना मरेर चिहान गएको बर्षौ भईसकेछ, ममतालाई बेचेर आतंक किनेछ शहरले, ईमान बेचेर दुर्नाम भएको छ शहर । यहाँ बाँच्नका लागि नभई खानका लागी बाँच्ने नियम रहेछ । तिमीले घर छोड्ने बेलामा कहिल्यै नबिर्सएस भनेर दिएको ईमान्दारीता भन्ने आशीर्वादलाई यहाँ चरम बेईज्यईती गरिएको, निर्वस्त्र भएर इमानदारीता सडक पेटीमा थुप्रिएको फोहरमा बेवारिस भएर सुतिरहेकोछ, सायद अब उठ्नै सक्दैनहोला ।
यो शहरमा बाँचेका मान्छेहरू मृतप्राय छन्, कोही पीडैपीडाले मरेका छन् कोही अरूलाई पीडा दिएको उन्मादमा मरेका छन । एकका लागि हजार मरिरहेछन् यहाँ, एकका लागि हजार कुल्चिईरहेछन्, हजारौको पसिनामा मुठ्ठीभर मस्ती लुटिरहेछन् । शक्तिहरू निर्लज्ज आत्मसमर्पण गर्ने यो ठाउँमा कुन कुराको अस्तित्व छ र आमा! बिद्वता लाटो भएको छ यता, उज्यालोको आँखा सिईएका छन्, चेतनालाई बेहोश पारिएको छ । आफन्तहरू दुश्मन बनेर छुरा रोप्न पोख्त छन् । विश्वास भन्ने शब्दलाई शब्दकोशबाट खारेज गरिएको छ ।
यस्तै छ आमा! यो शहरको हाल । अब तिम्रो जवाफको पर्खाइमा छु म, म कुन बाटो हिडौं । कि त मैले निशर्त यो शहरसामु आत्मसमर्पण गर्नुपर्छ, ईमानदारीता बेच्नुपर्छ, यसकै दास बन्नुपर्छ, पछौटे बन्नुपर्छ, लुट्नुपर्छ, दलाली गर्नुपर्छ आफ्नै धरतीमाथि, माटो बेच्नुपर्छ अनि मात्र बाँच्नदिन्छ शहरले यसको रछ्यानमा मलाई । कि त बिद्रोह गर्नुपर्छ आफ्ना सपनाहरूकालागि यो शहर बिरूद्धमा ज्यानको बाजी थापेर कि त मैदान छोडेर नालायक बाटोमा भाग्नुपर्छ । मैले हतियारहरूको खिया पुछिराखेको छु, साँद लगाई राखेकोछु ।म तिम्रो एउटै उत्तरको प्रतिक्षामा छु म म के गरौ?

No comments:

Post a Comment