January 8, 2013

अनि देश कसरी माथि उठ्छ ?


देशमा लुट छ,
जे गरे नि छुट छ,
सुरक्षा गर्नेले नै कुट्छ,
अनि कसरी देश माथि उठ्छ ?

यता नि झुठ छ,
उता नि झुठ छ,
मुक्तियुद्ध लड्नेको ज्यानमा महङ्गो सुट छ,
शीतलहरमा कपडा नपाई गरीबको ज्यान टुट्छ,
अनि देश कसरी माथि उठ्छ ?

राजनीतिले बोल्दैमा रूखमा बाँधेर चुट्छ,
बन्दुकका गोलीले भुट्छ,
मान्छे ज्यूँदै पुर्ने एक हूल जुट्छ,
अबाला नारीको चुरा फुट्छ,
यहाँ प्रधानमन्त्रीलाई नै अपराधीको वकालत गर्ने छुट छ,
अनि देश कसरी माथि उठ्छ ?

October 5, 2012

गजल

जानै दिन्न छेक्छु बाटो आजचाहिं छोड्ने छैन
हाकाहाकी हुन्छ कुरा अन्त कतै मोड्ने छैन
एक कोठा तिमी र म हुने छैन अरू कोही झ्याल ढोका बन्दै हुन्छन् पर्दा मात्र जोड्ने छैन संकोचमा के जेलिन्छौ मर्द मान्छे भएर नि खुलम खुला भैदिन्छु बर्को घुम्टो ओढ्ने छैन खडेरीकी धर्ती भा'छु बर्षातलाई पर्खिएकी बाढी नै आओस यौवनको बाँध तोड्ने छैन भन कृष्ण ! नबुझ्या कि नबुझेको जस्तो गर्‍या आफै बुझ्नु मेरा कुरा मैले मुख फोड्ने छैन । २०६६ जेठ १८, कोटेश्वर, काठमाण्डु ।

July 1, 2012

असार १५: गोलढुङ्गाको रोपाइ-एक सम्झना ।

मनमा अचम्मै दोधार भईरहेको थियो जान पाउछु कि पाउदिन भनेर । तर मनमा एउटा निश्चय गरेको थिए, अलिकति पनि समय मिल्यो भने जसरी जान्छु भनेर । माईजूलाई आफैले प्लेन चढाएर पठाउनुपर्ने थियो, त्यसमाथि फ्लाईट दिनको १ बजे थियो । अब कसरी जाने? मनमा अनेक द्वन्द् चल्यो । बिहान देखिनै काकाबाको निरन्तर ट्वीटरमा भएको रोपाईँमा जाने खबर प्रवाहले मनमा झन्झन् उथलपुथल पारिरहेकै बेलामा बिहान १० बजेतिर भुवन दाईलाई फोन गरेँ, रोपाईमा कति बेला जाने भनेर? साढे बाह्र बजे जाने भनेर भन्नु भयो । सोचेँ दाईलाई केहीबेर कुर्न लगाएर सँगै जानुपर्यो र त्यसै भने। एअरपोर्ट जाने मेलोमेसो मिलाउँदै गर्दै गर्दा हजुरआमा गाडी लिएर माईजूलाई एअरपोर्ट लैजान आई पुग्नुभयो अनि त मलाई के खोज्छस काना आखो भईगयो ।
दुईभाई बानेश्वर, सुन्धारा, लैनचौर, बालाजु हुदै कुमार फुँयाल(पागलबस्ती)को खेतको बाटो गोलढुंगातिर लागियो । बालाजु त पुगियो तर जाने बाटो कता हो कता केही मेसो पाईएन अनि बालाजुको अष्टनारायण हलभन्दा अलि माथि पुगेपछि सोधखोज गरियो गोलढुंगा जानेबाटोको र केही गोलमटोल दिशा पाईयो अनि धेरै हिलो थोरै पीच बाटो खल्ट्याङखुल्टुङ गर्दै हुईकियौ स्कुटरमा । फोनबाट काकाबालाई फोन गरेँ, बिदुर फुयाँलको घर जाने बाटो सोध्दै आऊ भन्नुभयो अनि केही माथि पुगेपछि एउटा पसलमा एकजना बुढो मान्छेलाई सोधयो बिदुर फुयाँलको घर । बुढा बाले 'बिदुरेको घर उ त्यो हो' भनेर टीनको छाना भएको घर देखाईदिए तर बाटो भने निकै तलबाट रहेछ घुमेर जानुपर्ने भयो । बाटोमा जादै गर्दा एकजना बुढो मान्छेलाई पारी जाने बाटो सोध्यौं, उनले 'यो पाटी मैले आफ्नै खर्चमा बनाको' भनेर उत्तर दिए । कान सुन्न नसक्ने रहेछन् उनी र उनले त्यस्तो उत्तर दिए भनेर उनीप्रति कुनै गुनासो मानेनौ हामीले । हामी लाग्यौ कुमार फुयाँलको घरतिर, पुग्नै लाग्दा उकालो हिले बाटोमा एउजना बच्चा बोकेको महिला उभिएकी थिइन र पुरूष मान्छे मोटरसाईकल धकेल्दै थिए, हामीले पनि स्कुटर रोक्यौं र यसो नियाल्यौ र चिनिहाल्यौ ट्वीटरका लेन्दाई अर्थात लेनिन बन्जाडे रहेछन् साथमा भएका उनकी श्रीमती र छोरा रहेछन् । कुमार फुयाँलको घरमाथिको अर्को घरमा स्कुटर राख्यौ अनि लेन्दाई, भाउजू अनि छोरा सँगसँगै कुमारजीको घर पुग्यौ । काठमाण्डु शहरको भीमकाय कंक्रीटको जंगल छाडेर त्यो हरियालीमा पुग्दा मन साँच्चै रोमान्चक बनेको थियो । नागार्जुन जंगलको छत्रछायामा जीवन्त बनेर उभिएको कुमारजीको घर देखेर मेरो आफ्नो घरको न्यस्रो मेटियो । आफ्नै घरका जस्ता बाख्रापाठा, उस्तै गोठ, उस्तै माहौल अनि उस्तैउस्तै जीवन । मेरै घरको जस्तै कुमारजीको पनि घरै अगाडी खेत रहेछ खेतमा हामी पुग्यौ । खेतमा एउटा गरोमा धान रोपिदै थियो, केही महिला रोप्दै हुनुहुन्थ्यो, कोही हातमा कोदाली लिएर बाउसे गर्दै, कोही आलीमा बसेका क्यामरा बोकेर। म बाहेक सबका सब एक अर्कामा परिचित थिए त्यहा उपस्थित भएकाहरू, मैले व्यक्तिगत रूपमा चिनेको एउटा भुवन दाई अनि भर्खरै चिनेको लेन्दाई, भाउजू अनि छोरा तर मन कताकता उत्साहित भईरहेको थियो । काकाबालाई त देख्नासाथ चिनिहालेँ, अरूसँग पनि भुवनदाईले चिनाईदिनुभयो यिनी केपी हुन् ट्वीटरमा ध्वजे हेण्डल भाका भनेर अनि काकाबा र पागलबस्तीले ट्वीटरमा भाको मेरो बायोको कुरा गर्नु भयो अनि अरूसँगै लागियो कोदाली बोकेर धान रोप्ने गरोतिर । हातमा कोदाली बोकेर बाबाजी, जनकजी, अनन्तजीहरू पहिले नै गरोभित्रै हुनुहुन्थ्यो, कुमारजी आउने जतिलाई टीका लगाईदिदै हुनुहुन्थ्यो । कोहीले बाउसे गरियो, कोहीले धान रोपियो । साथीहरू माटो सम्याउने निहुँमा पानीमा माटो फ्याँकेर अरूलाई रूझाईदिनुहुन्थ्यो बेलाबेलामा । काकाबा, भुवन, जनक जी, अनन्तजी लगायतसँग हिलो छ्यापाछ्याप गरियो, धेरै रमाईलो भएको थियो ।

बिचबिचमा बिभिन्न कुरा हुन्थ्यो, हँसी मज्जाक, ठट्टा यस्तैयस्तै । जाने बेलामा सोचेको थिएँ, आज गीत गाउने मेसो मिल्यो भने दह्रै रन्काउनुपर्छ भनेर, तर माहौल त्यस्तो थिएन अलिअलि रोपाहार दिदीहरूले गाउनुभो त्यसैमा चित्त बुझाईयो । रमाईलो कुरा त के भने पटकपटक ट्वीटरको बेजोड कुरा चल्थ्यो, जनकजी ट्वीटरको कुरा नगर भनेर च्याँठिनु हुन्थ्यो फेरी केके मेसोमा उहाँकै कुरामा आधारित भएर ट्वीटरकै कुरा निस्किन्थ्यो, ननिस्कियोस पनि कसरी ट्वीटरकै देन थियो त्यो संयोग । उमेरले सबैभन्दा कान्छो सदस्य लेन्दाईको छोरो भए पनि ट्वीटरको कान्छो मै थिएँ । लेन्दाईको सानो छोरो एउटा आकर्षण बनेको थियो । साथीहरूले रोपाईँ गरिएका मध्य अन्तिम गरो बल्लबल्ल रोप्न लायक बनाए किनकि सबै थाकिसकेका थिए भोकले खाजा खान कतिबेला जाने भनेर पर्खरहेका थिए । शहर पसेको धेरै समय भएरहोला, त्यति धेरै काम नगर्दा पनि सबैजना धेरै थकित देखिन्थे। कुमारजी को घरका मान्छे बाहेक सबै ओईलाए झै लाग्थ्यो । घरमुनीको ठूलो गरामा पानी लगाई सकेपछि कुमारजीले खाजा खान बोलाउनु भयो। सबैजना सँगै बसेर खाजा खाईयो । असार १५ भएकाले खाजा अबश्य नै दहीचिउरा थियो, अनि मीठो तरकारी । खाजा खान जानुअघि ठूलो गरामा गएर रोपाई गर्दै हिलो खेल्ने कुरा भएको थियो तर समय ४ बजिसकेको थियो त्यही भएर निस्कने सुरसार गरियो । मनमाचाहि फेरि एकछिन रोपाईँ गरेर हिलो खेलेर फर्किने मन थियो, नढाँटी भन्दा मन अमिलो भएको थियो कुन्नी किन हो । मनले भने अझै सबैजना सँगै बसेर एकछिन रमाईलो भईदेओस झै मानिरहेको थियो । जति पनि मान्छेहरूसँग भेट भयो, मलाई यो शहरमा पनि यति भद्र, गह्रुङ्गा, आत्मिक र सज्जन मान्छेहरू छन् भन्ने लाग्यो । जोजो त्यहा उपस्थित हुनुहुन्थ्यो सबैजनासँग आत्मियता पाएँ । राम्रो काम गर्नकालागि समेटिएका सम्पूर्णमा मनले धेरैधेरै सम्मान गरिरहेको छ ।
यसपालीको असार १५ साँच्चै रमाईलो भयो, यस अबसरका लागि कुमारजी, काकाबा लगायतलाई हार्दिक धन्यवाद, रोपाईमा भेटिनु भएका आत्मिक मित्रहरूमा हार्दिक कृतज्ञता । फेरि पनि यस्तै अबसरहरू जुटिईरहुन् । असार १५ साच्चै अबिस्मरणीय रह्यो ।



June 24, 2012

गजल

तिमी रातका तारा खसाएर आऊनू
बेलीचमेली भई बसाएर आऊनू

जूनेलीमा चाँदनीको चमक पोतेर
अंगअंग यौवन टसाएर आऊनू

अर्ध मौन ओठ बोकी अलि मुस्काउँदै
साँझपख मलाई हँसाएर आऊनू

घरकाले साँझमा बाहिर नजा भन्लान्
चाँडै आउँछु भनी फसाएर आऊनू

प्यासी छु म बर्षौदेखि तड्पिएर बाँचे
मेट्नु छ आजै तिर्खा रसाएर आऊनू

-असार २८, २०६६, कोटेश्वर, काठमाण्डु ।