March 1, 2012

यस्तो छ मेरो देश

हाम्रा खोलाहरू
पोखिईरहेछन समुद्रमा
मरूभूमि त्यही पानी बोत्तलमा बेचिरहेछ
प्रशोधन गरेर
मरूभूमि, एकचिम्टी उज्यालोका लागि
मेसिन किन्न लगाएर
तेल बेचिरहेछ हामीलाई
कार्बन किनिरहेछौ हामी
तताईरहेछौ हिमाल
पग्लिरहेछ हिऊँ
नांगो बनाएर हिमाल
हाम्रो वीरताको प्रमाणपत्रमा
धमिरा लागिरहेछ
हाम्रो भूमिको शक्ति नचिन्दा
आफ्नो ताकतको बिश्वास नलाग्दा
सोचहरू अरूबाटै प्रभावित हुँदा
विश्व दौडिइसक्दा
हामी लुला खुट्टाले उभिन खोज्दाखोज्दै
ढलिरहेछौ, गलिरहेछौ ।
मरूभूमिले दास बनाइरहेछ
दुनियाँले लास सम्झिरहेछ
मैलिईरहेछ आफ्नो भेष
यस्तो छ मेरो देश

झेलहरूको खेल चलाएर
आखामा पट्टी लगाएर
बाटो सम्म छ भनेर दौडन सिकाउने सिध्दान्तहरू
भीरबाट धकेलिरहेछ हामीलाई
हामी निहत्था सहिद बनिरहेछौ
जल्लादको सिध्दान्तमा विश्वास गरेर
हजारौहजार सहिद घोषणा गरिरहेछ ऊ
हाम्रो रगतका थोपाथोपासँग
पैसा साटेर, ऊ ठड्याइरहेछ
दर्जनौ आलिसान महलहरू
हाम्रो त्रास देखाएर
दुनियाँसँग मोलमोलाइ गरिरहेछ शक्तिको
हामी हात्ती, घोडा, उँट अनि प्युसा रहेछौ
ऊ खेलिरहेछ चेस
यस्तो छ मेरो देश

यहा एकबाट एक घटाउँदा
धेरै हुन्छ भन्ने अंकगणित सिकाइदैछ
नाकको टुप्पो र छालाको रङ हेरेर
हिड्ने बाटो छुट्याईंदैछ
एकतामाभन्दा अनेकतामा शक्ति हुन्छ भनिदैछ
ईतिहास मेट्न इरेजरहरू बनाईदैछ
राष्ट्रियतालाई प्लटिङ गरेर
सेयर बजारमा मोलमोलाइ गरिदैछ
एउटा देश कति टुक्रा पार्ने भनेर
चलिरहेछ दलाली, दलालहरूको
यसरी पारिदैछ इतिहास शेषशेष
यस्तो छ मेरो देश ।

1 comment:

  1. यस्तो छ मेरो देश

    ReplyDelete