म आफूजस्तै
एउटा जीर्ण अस्थिपञ्जर
सँगसँगै बाँचिरहेछ
जिन्दगी हाडहरूमा जेलिएर
पलपलमा विवश हाँसिरहेछ
सपनाका रेसाहरू
जब चम्किला हुन्छन्
उसले शरीरका
हरेक चौटाहरू गुमाउँदै जान्छ
हड्डीहरूको बीचबाट
मुर्कुट्टा आँखाहरू घुमाउँदै जान्छ
तर्साउन खोज्छ मलाई, प्रायजसो
म आफैजस्तो
एउटा जीर्ण अस्थिपञ्जर
मलाई हेर्ने आखाहरू
छातिका करङ्गहरूलाई
आँखीझ्याल बनाएर चिहाउँछन्
म आखा उठाईरहन्छु
म न त डराउँछु
न साहस नै बटुल्छु
उसलाई गिराउन
सायद ती आँखाहरू
कुनै दिन आफै थाक्नेछन्
बाटो मोड्नेछन् अनि हराउनेछन्
म त्यतिबेला
शोक मनाउनेछु
शून्यतामा
किनकि
मेरो अव्यक्त मित्रताको
अवसान भएको हुनेछ
मैले ती आँखाहरू
सम्झिई नै रहनेछु
म आफूजस्तै
एउटा जीर्ण अस्थिपञ्जर
बाँच्नुको अर्थ
नखोज्नु मै छ मेरो अस्तित्व
म भोलिका लागि पनि बाँच्दिनँ
नबाच्नुको बदलामा
मृत्यु पनि रोज्दिनँ
कहिलेकाहीं
अकालमै आशाहरू मर्छन
कलकलाउँदो उमेरमै
चितासम्म पुर्याउँछु तिनीहरूलाई
आगो लगाउँछु
खरानी पार्छु भनेर
जब नजलेका हड्डीहरू
खस्छन चिताबाट
म तिनीहरूलाई
सुम्सुम्याउछु, म्वाईँ खान्छु
मलाई उनीहरू डाम्दै जान्छन्
जब असाध्यै हुन्छ मलाई जलनले
म पानी खन्याउँछु चिस्याउन
जलन अझ प्रगाढ हुन्छ
मसानको बीचमा म आँखा चिम्लन्छु
पत्थर भएर मेरा सपनाहरू
बज्रन्छन
आफ्नो अस्तित्व बदलेर
म आफूजस्तै
एउटा जीर्ण अस्थिपञ्जर ।
-२०६७ असार १, सानोठीमी, भक्तपुर
No comments:
Post a Comment